पछि हटे रामास्वामी, अयोयाको नतिजाले के संकेत गर्छ ?

भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामी राष्ट्रपति उम्मेदवारको दौडबाट पछि हटेका छन् । आन्तरिक निर्वाचनमा अयोया राज्यमा चौथो स्थानमा आएपछि रामास्वामीले उम्मेदवारीको दौड अन्त्य गर्ने घोषणा गरे । उनले आगामी निर्वाचनमा ट्रम्पलाई सघाउने वाचा गरेका छन् ।
समर्थकलाई सम्बोधनका क्रममा रामास्वामीले भनेको कुरा उद्दृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘मेरा लागि राष्ट्रपतिको उम्मेदवार हुने बाटो अब बन्द भएको छ र यो मुलुकमा म जस्तै पृष्ठभूमिका व्यक्ति उम्मेदवार भएको हेर्न कसैले चाहदैन पनि ।’
सोमबार भएको आन्तरिक चुनावमा ट्रम्पले फराकिलो अन्तरको अग्रता लिए । ट्रम्पलाई फ्लोरिडाका गभर्नर रोन डिसान्तले पछ्याएका थिए भने अर्का आकांक्षी निक्की हेली तेस्रो स्थानमा रहे ।
ट्रम्पलाई सघाउनेबारे रामास्वामीले भनेका छन्, ‘ह्वाइटहाउसमा अमेरिकालाई पहिलो प्राथामिकतामा राख्ने व्यक्ति आउनुपर्छ । अब म पूर्ण रुपमा ट्रम्पलाई सघाउनेछु । मलाई लाग्छ यो नै सही कदम हुनेछ र म विश्वस्त छु अमेरिका पहिले नीतिलाई सबैले सफल बनाउनेछन् ।’
व्यापारिक पृष्ठभूमिका ३८ वर्षीय रामास्वामीले हालसम्म कुनै राजनीतिक जिम्मेवारी पाएका छैनन् । राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको आन्तरिक दौडका क्रममा उनले सारेका एजेण्डाहरु पनि विवादित थिए ।
उनले जन्मसिद्ध बन्ने अधिकारको अन्त्य गर्ने, शिक्षा मन्त्रालय बन्द गर्ने, संघीय अनुसन्धान निकाय एफबीआई बन्द गर्ने लगायतका एजेण्डा अघि सारेका थिए । आफू राष्ट्रपतिमा निर्वाचित भए ट्रम्पलाई सबै मुद्दामा सफाइ दिने उनको घोषणा थियो ।
अयोयाको निर्वाचनले के संकेत गर्छ ?
रामास्वामी बाहिरिएसँगै अब रिपब्लिनबाट उम्मेदवारको दौडमा डोनाल्ड ट्रम्पसँगै डि सान्तिस र निक्की मात्रै बाँकी रहेका छन् । यस राज्यमा उत्कृष्ट नतिजा निकाल्ने विश्वास राखेका डे सान्तिसले पनि दोस्रोमै चित्त बुझाउनु परेको छ ।
ट्रम्पले ५६ हजार २६० मत ल्याउँदा, डे सान्तिसले २३ हजार ४२० मत र निक्की हेलीले २१ हजार ८५ मत ल्याइन् । सन् २०१६ मा यो राज्यमा टेड क्रुज ट्रम्प भन्दा अघि थिए । यसपटक डि सान्तिसले आफैँ अघि हुने अपेक्षा राखेका थिए ।
उम्मेदवारीको अभियानमा उनले हालसम्म ३५ मिलियन अमेरिकी डलर खर्च गरिसकेका छन् । ट्रम्पले भने हालसम्म १८.३ मिलियन डलर खर्च गरेका छन् । ट्रम्पको तुलनामा करिब दोब्बर खर्च गरेर पनि उनले प्रभावकारी चुनौती दिन सकेनन् । यता निक्की हेलीले पनि ३७ मिलियन डलर खर्च गरिसकेकी छन् ।
निक्कीको चुनावी अभियानमा साथ दिनेमा रिपब्लिकनभन्दा गैररिपब्लिकन बढी थिए । उनलाई सहयोग र समर्थन गर्नेहरुमा स्वतन्त्र र डेमोक्र्याटहरुको संख्या आधा आधा थियो । यद्यपि निक्कीले हार खाइसकेकी छैनन् । २३ जनवरीमा न्यू ह्याम्सपायरको प्राइमरीमा ट्रम्पलाई कडा चुनौती दिने उनको विश्वास छ । अयोयाको नतिजाले रिपब्लिकनभित्र निक्कीको सम्भावनाको खोजी भइरहेको संकेत देखाएको छ ।

कास्की : चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण ...

एमालेका पुराना कार्यकर्ता नानीरामले देश नबन्नुको कारणका सूची नै प्रस्तुत गरे, ‘पहिलो– नेताहरू भ्रष्ट भए। दोस्रो– कर्मचारीहरू भ्रष्ट भए । तेस्रो– नेता र कर्मचारी मिलेर…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज शनिबार भृकुटीमण्डपमा सभा गर्दैछ l आफ्नो शक्तिको प्रदर्शन गर्ने भएको छ l